युएईमा हुने लिग–२ सिरिजका लागि नेपाली टोली सार्वजनिक, रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम
Prime TV News २ महिना अगाडि 
काठमाडौ । आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपालले अन्तिम टोली घोषणा गरेको छ।
नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्ने छन् भने उपकप्तानको जिम्मेवारी दिपेन्द्र सिंह ऐरीले सम्हाल्ने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको १५ सदस्यीय टोलीमा सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी र करण केसीजस्ता अनुभवी खेलाडीहरू रहेका छन्।
त्यस्तै नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, ललित राजवंशी, गुलशन झा र शाहब आलम पनि टोलीमा समावेश छन्। आक्रामक ब्याट्सम्यान अनिल शाह पनि लामो अन्तरालपछि राष्ट्रिय टोलीमा पुनः फर्किएका छन्।
युएईमा हुने यो श्रृंखलामा नेपालसँगै आयोजक युएई र अमेरिका सहभागी हुनेछन्। विश्वकप लिग–२ को यो चरण नेपालका लागि महत्वपूर्ण मानिएको छ, किनभने यसमा प्राप्त हुने अंकले आगामी विश्वकप छनोटमा प्रत्यक्ष प्रभाव पार्नेछ।
क्यानका अधिकारीहरूका अनुसार टोलीमा युवा र अनुभवी खेलाडीको सन्तुलन मिलाइएको छ। खेल विज्ञहरूले युएईको पिचमा स्पिन बलिङ निर्णायक हुने अनुमान गरेका छन् र सन्दीप लामिछानेको भूमिका फेरि एकपटक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
नेपालले पहिलो खेल अक्टोबर २६ मा अमेरिकाविरुद्ध र दोस्रो खेल अक्टोबर २८ मा युएईविरुद्ध खेलने कार्यक्रम छ।













