देशभर स्थिर मौसमी अवस्था, भोलिदेखि केही पहाडी क्षेत्रमा फाटफुट वर्षा हुने सम्भावना
Prime TV News १० महिना अगाडि 
काठमाडौ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशको अधिकांश भूभागमा मौसम स्थिर छ र सामान्यतया सफा देखिएको छ।
आज बिहान देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिए पनि तराई र हिमाली क्षेत्रको अधिकांश भागमा आकाश खुलेको छ। दिउँसो पनि यस्तै अवस्था रहने पूर्वानुमान गरिएको छ।
मौसम विज्ञहरूले अहिले कुनै नयाँ न्यून चापीय प्रणाली वा पश्चिमी वायु प्रवेश नगरेकाले तत्काल ठूलो मौसमी परिवर्तनको सम्भावना नरहेको बताएका छन्। भोलि भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही पहाडी स्थानमा फाटफुटवर्षाहुनेसम्भावना रहेको महाशाखाले जनाएको छ।
अहिले बिहान र रातको तापक्रम क्रमशः घट्दै गएको छ। काठमाडौं उपत्यकामा बिहानको तापक्रम १३ डिग्री सेल्सियस आसपास रहँदा दिउँसो अधिकतम तापक्रम २७ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले बिहान र बेलुका चिसो बढ्दै जाने भएकाले विशेष गरी उच्च पहाडी र हिमाली क्षेत्रमा न्यानो कपडा प्रयोग गर्न र यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ।







