कतारको मध्यस्थतामा पाकिस्तान–अफगानिस्तानबीच युद्धविराम लागू, सीमा तनाव घट्ने संकेत

User Image Prime TV News २ महिना अगाडि
Image of कतारको मध्यस्थतामा पाकिस्तान–अफगानिस्तानबीच युद्धविराम लागू, सीमा तनाव घट्ने संकेत

काठमाडौ । कतारको राजधानी दोहामा सम्पन्न उच्चस्तरीय वार्ताले पाकिस्तान र अफगानिस्तानबीच तत्काल युद्धविराम लागू गर्ने सहमति जुटाएको छ।

पछिल्ला हप्ताहरूमा तीव्र बनेको सीमा तनावबीच आएको यो सहमति दक्षिण एसियाली कूटनीतिक स्थिरताका लागि ठूलो उपलब्धि मानिएको छ।

कतारको विदेश मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भन्यो, 'कतार र टर्कीको संयुक्त मध्यस्थतामा सम्पन्न वार्ताले दुई देशबीचको सीमा क्षेत्रमा दिगो शान्ति र स्थिरता कायम गर्न संयन्त्र स्थापना गर्ने निर्णय गरेको छ।'

सम्झौताअनुसार, युद्धविरामको कार्यान्वयन र अनुगमनका लागि दुवै देशका समिति आगामी दिनमा दोहा र इस्लामाबादमा छुट्टाछुट्टै बैठक गर्नेछन्। यस संयन्त्रमार्फत साना सीमास्तरीय विवादहरू समाधान गर्न स्थायी संवाद प्रणालीको सुरुवात हुने कतारले जनाएको छ।

कतारको विदेश मन्त्रालयले थप जनाएको छ, 'यो सहमति पाकिस्तानअफगानिस्तान सीमामा बढ्दै गएको तनाव घटाउने र क्षेत्रीय स्थिरताको दिशामा निर्णायक कदम हुनेछ।'

पाकिस्तानका रक्षामन्त्रीले वार्ताको परिणामप्रति सकारात्मक प्रतिक्रिया दिँदै इतिहासमा पहिलोपटक द्विपक्षीय रूपमा दिगो शान्तिको दिशामा ठोस कदम चालेको बताएका छन् । 

उनका अनुसार, दुवै पक्षका प्रतिनिधिमण्डलहरू अक्टोबर २५ मा इस्तानबुलमा पुनः भेटेर युद्धविरामको प्राविधिक पक्ष र सीमाक्षेत्रीय सुरक्षाका उपायहरूबारे विस्तृत छलफल गर्नेछन्।

यसअघि, पाकिस्तान र अफगानिस्तानबीच तालीबान समर्थित समूह र सीमास्तरीय आक्रमणका कारण द्विपक्षीय सम्बन्धमा चिसोपन आएको थियो।