मोहन वैद्य 'किरण'ले महासचिव पदबाट राजीनामा, सीपी गजुरेल नयाँ महासचिव नियुक्त
Prime TV News १० महिना अगाडि 
काठमाडौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ले आफ्नो पदबाट स्वैच्छिक राजीनामा दिएका छन्। बैद्यले स्वास्थ्य अवस्थालाई प्रमुख कारण देखाउँदै पदबाट अलग हुने निर्णय गरेका हुन्।
८० वर्षे नेता वैद्य लामो समयदेखि पार्टी नेतृत्वको अग्रभागमा क्रियाशील थिए। उनले २०६९ सालमा तत्कालीन माओवादी पार्टीबाट विद्रोह गरी नयाँ पार्टी नेकपा–माओवादीको नेतृत्व गरेका थिए। पछिल्लो समय विभिन्न क्रान्तिकारी धारहरूलाई एकताबद्ध गर्दै २०८१ मंसिरमा सम्पन्न महाधिवेशनबाट वैद्य क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव चयन भएका थिए।
पार्टीले वैद्यको स्थानमा सीपी गजुरेललाई नयाँ महासचिवको जिम्मेवारी दिएको छ। बैद्यको स्वास्थ्यले अब पूर्ण रूपमा साथ नदिएपछि पदबाट हट्ने निर्णय गर्दै केन्द्रीय समितिले गजुरेललाई महासचिवको जिम्मेवारी दिएको हो । पार्टीका अनुसार मोहन वैद्य अब पार्टीको सल्लाहकार समिति र विशेष कार्यदलमा सक्रिय रहने छन्।







