विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाउने प्रतिनिधिहरूको दबाब, केन्द्रीय कार्यसमितिको म्याद लम्ब्याउने तयारीप्रति आपत्ति
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बनेको छ। नेता गुरूराज घिमिरेको अगुवाइमा १४औं महाधिवेशनका प्रतिनिधिहरूले हालै पार्टीको केन्द्रीय कार्यसमितिको म्याद लम्ब्याउने तयारीप्रति आपत्ति जनाउँदै तत्काल विशेष महाधिवेशन बोलाउन दबाब दिएका छन्। घिमिरे पक्षधरहरूले आज पत्रकार सम्मेलन गरि असोज २९ गते कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको २४८८ प्रतिनिधिको हस्ताक्षर नै पार्टी विधानअनुसार विशेष महाधिवेशनको लागि पर्याप्त भएको तर्क गरेका छन्। यो संख्या ५३ प्रतिशतभन्दा बढी रहेको उनीहरूको दाबी छ।
पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय राजनीति अत्यन्त तीव्र गतिमा अगाडि बढिरहेको अवस्थामा केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। कार्तिक १३ गते मात्र अर्को बैठक बोलाइएको छ, जुन अत्यन्त आपत्तिजनक र अलोकतान्त्रिक हो।”
विशेष महाधिवेशन पक्षले कार्यसमितिले समयमै नियमित महाधिवेशन नगरी म्याद थप गर्ने उद्देश्य राखेको स्पष्ट देखिएको आरोप लगाएको छ। उनीहरूले कार्यसमितिको यस्तो प्रवृत्तिलाई पार्टीको लोकतान्त्रिक चरित्रमाथिको हमला भनेर आरोप लगाएका छन्।
यस्तै, पत्रकार सम्मेलनमा हालैको ‘जेनजी आन्दोलन’ को पनि चर्चा गरिएको थियो।
विज्ञप्तिमा भनिएको छ, “नयाँ पुस्ताले देखाएको उत्साह, अग्रसरता र बलिदानले नेपाली राजनीतिलाई नयाँ मोडमा पुर्याएको छ। यसले परिवर्तनको मागलाई अझ सशक्त बनाएको छ।”
विरोधी पक्षले विशेष महाधिवेशनको मागलाई आन्तरिक असन्तुलन भनेर चित्रण गरिरहेका बेला, नेताहरूले भने यो माग पार्टीको समग्र रूपान्तरण र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि गरिएको स्पष्ट पारेका छन्।
तर, कांग्रेसको संस्थापन पक्षले अहिलेसम्म विशेष महाधिवेशन बोलाउने संकेत दिएको छैन । आगामी मंसिरभित्र १५औं महाधिवेशन पनि हुन नसक्ने भनिरहेकाे छ ।












