नेप्सेमा १६.६७ अंकको सुधार, कारोबार रकममा भने गिरावट
Prime TV News एक महिना अगाडि 
काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा हरियाली देखिएको छ। लामो समयदेखि ओरालो लागेको सूचक आज १६.६७ अंकले उकालो लागेको हो । यससँगै नेप्से सूचक २ हजार ५०३ अंकमा पुगेको छ।
पछिल्ला दिनहरूमा लगातार घट्दै २४ सय अंकको सीमासम्म झरेको सूचक आज पुनः माथि उक्लिएको छ। नेप्से सूचक बढे पनि कारोबार रकम भने घटेको देखिएको छ। गएको बिहीबार ३ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा आजको कारोबार २ अर्ब ७९ करोड रुपैयाँमा खुम्चिएको छ।
आज १३ मध्ये १० वटा उपसमूहको सूचकमा वृद्धि देखिएको छ। सबैभन्दा बढी वृद्धि अन्य उपसमूहमा १.१६ प्रतिशतको भएको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूह क्रमश ०.९० प्रतिशतले उकालो लागेका छन्।
बैंकिङ, हाइड्रोपावर, फाइनान्स, पर्यटन, जीवन बीमा र माइक्रोफाइनान्स उपसमूहमा पनि हरियाली देखिएको छ। तर विकास बैंक, निर्जीवन बीमा र म्युचुअल फण्ड समूहमा भने आज केही गिरावट आएको छ।













