प्रधानमन्त्री कार्कीको श्रद्धाञ्जली : विपिन जोशी हाम्रो देशको बहादुर छोरा हुन
Prime TV News १० महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले हमासद्वारा हत्या गरिएका नेपाली विद्यार्थी विपिन जोशीलाई देशको बहादुर छोरा भनेकी छन्।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विपिनको पार्थिव शरीरमा राष्ट्रिय सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री कार्कीले विपिनले चाहेको भए आफू बाँच्न सक्थे, तर उनले आफ्ना साथीहरूलाई बचाउन खोज्दा अपहरणमा परेको बताइन ।
उनले भनिन्, “विपिनले चाहेको भए आफू बाँच्न सक्थे, तर उनले आफ्ना साथीहरूलाई बचाउन खोज्दा अपहरणमा परे। उनले नेपालको मात्र होइन, इजरायली जनताको पनि सम्मान प्राप्त गरे।”
प्रधानमन्त्री कार्कीले विपिन जोशी मानवता र मित्रताको सर्वोच्च उदाहरण प्रस्तुत गरेको बताइन ।उनले थपिन्, “विपिन भौतिक रूपमा हामीसँग छैनन्, तर उनी सधैं हाम्रो मनमा रहिरहनेछन्। उनको साहस र देशप्रेम नेपालका प्रत्येक युवाको प्रेरणा बन्नेछ।”
प्रधानमन्त्री कार्कीले भनिन्, “तीन करोड नेपालीका आँखा रसाएका छन्। विपिन हाम्रा साझा छोरा हुन्—उनको बलिदान र साहस सधैं अमर रहनेछ।”







