शंखधर साख्वाको निस्वार्थ सेवाभावबाट प्रेरणा लिनु पर्ने राष्ट्रपति पौडेलको सन्देश

User Image Prime TV News १० महिना अगाडि
Image of शंखधर साख्वाको निस्वार्थ सेवाभावबाट प्रेरणा लिनु पर्ने राष्ट्रपति पौडेलको सन्देश

काठमाडौ । नेपाल सम्वत् ११४६ को शुभारम्भका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानलाई स्मरण गर्दै निस्वार्थ सेवाभाव, समानता र परोपकारको मार्गमा अघि बढ्न सबै नेपालीलाई आह्वान गरेका छन्।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले जनताको स्वतन्त्रता र आर्थिक मुक्ति सुनिश्चित गर्न साख्वाले गरेको ऐतिहासिक कार्य नेपाली समाजका लागि युगान्तकारी भएको उल्लेख गरेका छन्।

उनले भने, 'लिच्छवी राजा राघवदेवको शासनकालमा काठमाडौँ उपत्यकाका किसान र गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले नयाँ युगको सुरुवात गरे। त्यस दिनदेखि नै नेपाल सम्वत्को आरम्भ भएको मानिन्छ।'

राष्ट्रपतिले साख्वाको सामाजिक सेवा, समानता र मानवीय मूल्यप्रतिको समर्पणले आजको समाजलाई अझ उत्तरदायी र एकताबद्ध बन्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले नेपाल सम्वत्लाई नेपालकै मौलिक पात्रोको रूपमा वर्णन गर्दै यसले नेपाली समाजको सहिष्णुता, एकता र सांस्कृतिक विविधताको सुन्दर झल्को दिन्छ भने।

शंखधर साख्वाले प्रवर्तन गरेको नेपाल सम्वत् हाम्रो गौरवशाली इतिहासको प्रतीक हो। उनको निस्वार्थ सेवाभाव र लोककल्याणकारी सोचले हामीलाई न्यायपूर्ण, समतामूलक र समृद्ध समाज निर्माणतर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस्।” राष्ट्रपति पौडेलले शुभकामनामा भनेका छन् ।