सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी
Prime TV News १० महिना अगाडि 
काठमाडौ । सरकारले अब नेपाल संवत्लाई औपचारिक रूपमा सरकारी मुद्रामा समावेश गर्ने तयारी अघि बढाएको छ।
नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा प्रक्रिया अघि बढाउने घोषणा गरेकी हुन्।
कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, 'नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु।'
उनले नेपाल संवत्लाई राष्ट्रिय इतिहास र पहिचानसँग जोडिएको गौरवशाली प्रतीक भन्दै यसको संस्थागत कार्यान्वयनमा सरकारले गम्भीर ध्यान दिने बताइन्।
शंखधर सा:ख्वाले राजा राघवदेवको शासनकालमा जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको स्मरण गर्दै प्रधानमन्त्री कार्कीले सो ऐतिहासिक निर्णयले सामाजिक एकता, समानता र मानवीयताको सन्देश दिएको उल्लेख गरिन्।
उनले सरकारी कार्यालयहरूमा नेपाल संवत्को प्रभावकारी प्रयोग सुनिश्चित गर्न मन्त्रालयहरूलाई निर्देशन दिने र त्यसको अनुगमनका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने प्रतिबद्धता समेत जनाइन्।







