ओली र विद्याको स्वार्थको टकरावले एमाले कठिन परीक्षाको संघारमा उभियो


कुनै बेला आरोप खेपेकै हो न पोथी न भाले , नेकपा एमाले । हुनत हरेक थरी परीक्षा पास गरेको एमाले यसपटक भने अर्को कठिन परीक्षाको संघारमा उभिएको छ । २०२८ सालमा झापा काण्डबाट उदायो । अहिले २८ को पछिल्लो ८ लाई अघि सारेर २ लाई पछि सारेको अवस्थामा आइपुग्दा पनि एमालेलाई परीक्षाले अत्याउन छाडेन । ५४ बर्षको यो यात्रामा एमालेले धेरै आरोह अवरोह भोग्यो । नेताहरु छिन्नभिन्न भए । तर एमालेको साख र शान अझै उस्तै छ ।
यसपटक भने एमालेको जीवन मरणलाई नै लिएर प्रश्न उठाइन थालेको छ । जस्को केन्द्रमा देखिएका दुई पात्र हुन् – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी । ओली विधान मिचेर तेस्रो पटक अध्यक्ष बन्ने दौडमा छन भने भण्डारी पूर्व राष्ट्रपतिको मर्यादा र नैतिकता भुलेर एमालेको राजनीतिमा फर्कन खोज्दैछन् । दुई व्यक्तिको यही स्वार्थको टकरावले एमालेको सिंगो स्वार्थ धरापमा परेको छ ।
पार्टी दुई चिरा परिसकेको छ । कार्यकर्ताहरुबीच पानी बाराबारको अवस्था आउन थालेको छ । जस्को असर पार्टीको हरेक कमिटीमा देखिदा सर्वत्र अन्योल चुलिदो छ । यसबीचमा शुक्रबारदेखि सुरु हुन लागेको एमालेको विधान महाधिवेशन प्रति सबैको ध्यान तानिदो छ । विद्या भण्डारीको बारेमा राखिएको फरक मतलाई पनि सचिवालय बैठकमा छलफलका लागि स्वीकारेको ओली पक्षले विद्याको उपस्थितिलाई भने नपचाउने निश्चित छ ।
विद्या भण्डारी दुई महिना अघि चीनको भ्रमणबाट फर्केपछि अचम्मको उर्जा उनीमा जागेको छ । तर यसपटक ओली पनि उत्तरबाट उर्जावान भएर नै आउँदैछन् । अलोकप्रिय बन्दै गएको ओलीले क्षीण हुँदै गएको आफ्नो शक्तिलाई चीनमा रिचार्ज गरेको चर्चा एमाले भित्र हुन थालेको छ । यही विषयलाई मलजल गरेर ओलीका चेलाहरुले फेसबुकमा झोले अभियान पनि चलाए । यो उपलब्धिलाई पनि ओली पक्षधरले पार्टी भित्रको वर्तमान संकटसँग जोडेर चर्चा चलाउन थालेका छन् ।
जेसुकै र जस्तो सुकै रणनीति अपनाए पनि ओली यसपटक चुनौतीपूर्ण अवस्थामा भने उभिएका छन् । विद्या पक्षधरको चुनौती यही विधान महाधिवेशनमा प्रभावकारी बन्ने सम्भावना न्यून भएपनि ओली आत्तिएको बुझ्न गाहो पर्दैन । पार्टी भित्र समानान्तर गतिविधि बढाउने गरी अघि बढेकी विद्या भण्डारीको पक्षमा केही अगुवा नेताहरु खुलेपनि अझै पनि बहुमतको पल्ला भने ओली पक्षमा नै देखिन्छ ।
धेरै ओलीका अगाडि खुलेर बोल्ने आँट गर्ने अवस्थामा पनि छैनन् । यही कारण पनि यसपटक ओली परे पेलेरै जाने मनस्थितिमा पनि पुगेका छन् । तर ओलीले यही रणनीति अपनाए एमालेले हरेक कदममा असहज अवस्था भोग्नु पर्ने पक्का छ । जस्को असर उसलाई ८४को आम निर्वाचनमा पनि नपर्ला भन्न सकिन्न । ओली र विद्याको स्वार्थको टकरावले हानी भने एमालेलाई नै हुने बाटो प्रशस्त बन्दै गएको छ ।