भाइटीका आज देशभर हर्षोल्लासका साथ मनाइयो, रानीपोखरीमा श्रद्धालुको ठूूलो भीड
Prime TV News १० महिना अगाडि 
काठमाडौ । दाजुभाइ र दिदीबहिनीबीचको स्नेह र आत्मीयताको प्रतीक भाइटीका आज देशभर हर्षोल्लासका साथ मनाइयो।
यमपञ्चकको अन्तिम दिन पर्ने भाइटीकामा दिदीबहिनीहरूले दाजुभाइलाई सप्तरङ्गी टीका र माला लगाई दीर्घायु र समृद्धिको कामना गर्छन्।
राजधानी काठमाडौंदेखि ग्रामीण क्षेत्रसम्म बिहानैदेखि भाइटीका लगाउने र आशीर्वाद दिने–लिने चहलपहल छ। घर–घरमा मिठा परिकार, दियोबत्ती र फूलमालाले वातावरण झकिझकाउ बनेको छ।
दाजुभाइ नभएका युवाहरू भने आज परम्पराअनुसार काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुगेका छन्। वर्षमा एकपटक मात्र खुल्ने यो मन्दिरमा बिहानैदेखि टीका ग्रहण गर्न भक्तजनको ठूलो भीड लागेको थियो ।
मन्दिर व्यवस्थापन समितिका अनुसार दर्शनार्थीहरूलाई सहज ढंगले टीका र प्रसाद ग्रहण गराउन सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।







