तिहारपछि पनि सरकारी विदा जारी
Prime TV News १० महिना अगाडि 
काठमाडौ । तिहार बिहीबार नै सम्पन्न भए पनि शुक्रबार सरकारी बिदा बाँकी नै छ। सरकारले शुक्रबार पनि तिहारकै नाममा बिदा दिएको हो ।
गृह मन्त्रालयले प्रकाशन गरेको राजपत्रमै पनि यो वर्ष कात्तिक ३ देखि ७ गते शुक्रबारसम्म तिहार बिदा उल्लेख छ। तिथि घटबढका कारण यो वर्ष लक्ष्मीपूजा र भाइटीकाकै बिचमा पनि एक दिन बिदा थपिएको थियो। यससँगै यो वर्ष तिहारको बिदा पाँच दिनको भएको छ।
लामो सरकारी बिदाका कारण सरकारी कार्यालयका काम प्रभावित हुने र सेवाग्राहीले कठिनाइ भोग्नुपर्ने भन्दै विरोध हुने गरे पनि सरकारले तिहारका नाममा अनावश्यक बिदा दिएको हो। सोमबारदेखि बन्द सरकारी कार्यालय एक सातापछि आइतबार मात्र खुल्नेछन्।
आइतबार खुले पनि सोमबार मिथिलाञ्चलको महान् पर्व छठ परेको छ। यो दिन पनि सार्वजनिक बिदा छ । केही वर्षअघि तिथिकै घटबढका कारण विभिन्न समुदायले छुट्टाछुट्टै दिन भाइटीका मनाएपछि सरकारले पछाडि एक दिन बिदा दिन शुरु गरेको थियो। तर केही पर्व नपरे पनि बिदा दिने क्रम भने रोकिएको छैन ।







