निर्वाचनको तयारीमा सरकार, गृह मन्त्रालयले अराजक गतिविधि रोक्न सचेत गरायो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको तयारी तीव्र भइरहेका बेला गृह मन्त्रालयले शान्ति सुरक्षा कायम राख्दै निर्वाचन अनुकूल वातावरण बनाउन सबै पक्षलाई संयमित रहन आह्वान गरेको छ।
मन्त्रालयले शनिबार जारी विज्ञप्तिमा हाल सामाजिक सञ्जाल र विभिन्न माध्यममार्फत् धर्ना, जुलुस र प्रदर्शनका कार्यक्रम सार्वजनिक भइरहेका विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
विज्ञप्तिमा भनिएको छ, “देशमा अस्थिरता र अराजकता फैलाउने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गर्न सक्ने सम्भावना रहेकोले आयोजकहरू सचेत रहनु आवश्यक छ।”
गृह मन्त्रालयका अनुसार भदौ २३ र २४ गतेको आन्दोलन पश्चात् क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण भई देशको सुरक्षास्थिति सामान्य हुँदै गएको छ। मन्त्रालयले निर्वाचनका लागि कानुनी, प्रशासनिक र सुरक्षासम्बन्धी तयारीलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “सरकार सबैको जायज माग र चासोलाई सम्बोधन गर्न तयार छ। कुनै पनि असन्तुष्टि वार्ताका माध्यमबाट समाधान गर्न सकिन्छ, हिँसात्मक बाटो समाधान होइन।”
जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकारले आगामी निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिने तयारी गरेको मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले नागरिकहरूलाई अफवाहमा नफस्न, साम्प्रदायिक सद्भाव कायम राख्न र राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, “जनताको स्वतन्त्रता, सार्वजनिक सेवा प्राप्त गर्ने अधिकार र शान्तिपूर्ण वातावरणमा मतदान गर्ने हक कुण्ठित हुन नदिन सरकार पूर्ण प्रतिबद्ध छ।”














