छठ पर्वका लागि काठमाडौँ महानगरले आठ स्थान तोक्यो, तीन सय सरसफाइकर्मी खटाइए

User Image Prime TV News ३ हप्ता अगाडि
Image of छठ पर्वका लागि काठमाडौँ महानगरले आठ स्थान तोक्यो, तीन सय सरसफाइकर्मी खटाइए

काठमाडौ । आगामी कार्तिक १० गते मनाइने छठ पर्वका लागि काठमाडौँ महानगरपालिकाले आठ स्थान तोकेको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाटलाई छठ पर्व मनाउनका लागि आधिकारिक स्थलका रूपमा निर्धारण गरिएको जानकारी दिए।

पाण्डेले पर्वलाई स्वच्छ र सुरक्षित बनाउन महानगरले व्यापक तयारी थालेको बताए। उनका अनुसार तोकिएका स्थानहरूमा सरसफाइका लागि तीन सयभन्दा बढी सरसफाइकर्मी परिचालन गरिएका छन्।छठ पर्व धार्मिक आस्था र स्वच्छताको पर्व हो। त्यसका लागि आवश्यक सबै तयारी पूरा गरिएको छ,” पाण्डेले भने।

महानगरले तोकिएका स्थल बाहेक अन्य स्थानमा अव्यवस्थित रूपमा छठ पर्व मनाउन नहुने चेतावनी पनि दिएको छ। पाण्डेले छठको नाममा ताल, पोखरी वा घाटमा कुनै प्रकारको शुल्क उठाउने कार्य निषेध गरिएको जानकारी दिए।कसैले शुल्क लिन खोजे तुरुन्त महानगरलाई जानकारी दिनुहोस्,” उनले अनुरोध गरे।

यस्तै, तोकिएको स्थानमा सवारी पार्किङ नगर्न र भीड नियन्त्रणमा सहयोग गर्न भक्तजनलाई आग्रह गरिएको छ। महानगरले सुरक्षाको जिम्मा प्रहरी र ट्राफिकसहित विभिन्न निकायसँग समन्वयमा मिलाएर लिएको जनाएको छ।

काठमाडौँमा पछिल्ला वर्षहरूमा छठ पर्व मनाउने भक्तजनको संख्या बढ्दो क्रममा छ। यसलाई मध्यनजर गर्दै महानगरले पहिलोपटक एकीकृत व्यवस्थापनमार्फत् छठ मनाउने तयारी गरेको हो। महानगरले नागरिकलाई धार्मिक श्रद्धा, सरसफाइ र सभ्य व्यवहारका साथ छठ पर्व मनाउन अनुरोध गरेको छ।