आज छठ पर्वको दोस्रो, दिन खरना मनाइँदै
Prime TV News १० महिना अगाडि 
काठमाडौ । सूर्य उपासनाको महान् पर्व छठको दोस्रो दिन आज देशभर विशेष गरी मिथिलाञ्चलमा ‘खरना’ विधिपूर्वक मनाइँदैछ। व्रतालुहरूले बिहानै पवित्र स्नान गरी दिनभर निराहार बस्दै राति सूर्यदेव र छठीमाताको आराधना गर्ने परम्परा अनुसार खरना विधि सम्पन्न गर्ने तयारी गरेका छन्।
कात्तिक शुक्ल पञ्चमीका दिन मनाइने खरनाको वेला व्रतालुहरूले साँझ पवित्र स्थानमा पूजा आराधना गरी सक्खर मिसाइएको खीर, रोटी र फलफूल चन्द्रमा, छठीमाता र कूलदेवतामा अर्पण गर्छन्। त्यसपछि प्रसाद ग्रहण गरी निराहार व्रतको मुख्य चरण सुरु हुन्छ।
यसअघि शनिबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ सम्पन्न भइसकेको छ। चार दिनसम्म चल्ने यो पर्वको तेस्रो दिन अर्थात् कात्तिक शुक्ल षष्ठीका साँझ व्रतालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्नेछन्। त्यसपछि चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गरिन्छ।
छठ पर्वमा बाँसका ढकी, डगरी, माटाका कोसिया, हाँडी, ठकुवा, भुसुवा, केरा, उखु, अदुवा, हल्दी, मिठाई र फलफूल जस्ता सामग्री अर्पण गर्ने परम्परा छ। यिनलाई शुद्धता, समर्पण र सूर्यप्रतिको कृतज्ञताको प्रतीक मानिन्छ।
पारिवारिक सुख शान्ति, स्वास्थ्य लाभ, सन्तान र मनोकामना पूर्तिका लागि मनाइने यो पर्व मिथिलाञ्चलसहित तराईका जिल्लाहरूमा विशेष उत्साहका साथ मनाइँदैछ।
पौराणिक मान्यताअनुसार महाभारतकालमा द्रौपदीले पाण्डवहरूको गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेकी थिइन्, त्यसै समयदेखि छठ पर्वको परम्परा सुरु भएको विश्वास गरिन्छ।







