खगेन्द्र सुनारको मन्त्री नियुक्ति रोकियो: फौजदारी मुद्दा सार्वजनिक भएपछि शपथ स्थगित
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सिफारिस भएका खगेन्द्र सुनारको शपथ रोकिएको छ। फौजदारी मुद्दामा प्रतिवादी रहेको खुलासापछि उनलाई मन्त्रीको शपथ नगरिने निर्णय भएको हो।
प्रधानमन्त्री कार्कीले आइतबार बिहान राष्ट्रपति कार्यालयमा पठाएको नामावलीमा प्रारम्भमा सुनारको नाम समावेश गरिएको थियो। तर पछि प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ राष्ट्रपति कार्यालय पुगेका र शपथ नगरिने जानकारी दिएका छन्।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले भने, सुनारको नाम मन्त्री सूचीमा समावेश नै नरहेको दाबी गरेका छन्। तर उनको यो दाबी अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो।
दैलेखको नारायण नगरपालिका–२, भैसेखोर घर भएका सुनार विरुद्ध २०८१ असारमा सुर्खेत जिल्ला अदालतमा फौजदारी मुद्दा दर्ता भएको थियो। स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा प्रहरीले अनुसन्धान गरी सरकारी वकिलले उनलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेका थिए। अदालतले ७ दिने पक्राउ पुर्जी जारी गरेको थियो र पक्राउ नपरे ३५ दिने पुर्जी तामेल गर्न पत्राचार गरिएको थियो।
सुनारविरुद्ध उक्त मुद्दा सुर्खेतस्थित गुर्भाकोट नगरपालिकाको मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाले जाहेरी दिएका थिए।













