सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न प्रचण्डको आग्रह
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गरेका छन् । गोरखामा कार्यकर्ता प्रशिक्षण गर्दै संयोजक प्रचण्डले अब निर्वाचनको बिकल्प नभएको बताए ।
उनले जेनजि आन्दोलनले उठाएका मुद्दा र देशको वर्तमान राजनीतिक अवस्थासम्बन्धी विचार प्रस्तुत गर्दै पार्टीका आगामी कार्यदिशाबारे स्पष्ट सन्देश दिएका छन् । संयोजक प्रचण्डले भने,“जेनजि आन्दोलनले उठाएका मुद्दा हामीले बिगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ। अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ।”
उनले हालको अन्तरिम सरकारप्रति स्पष्ट मत प्रस्तुत गर्दै भने,“केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति हामीले पनि समर्थन जनाएका थियौँ। तर हाम्रो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद विघटन गरौँ भन्ने थियो। जेन–जि आन्दोलन हाम्रा उत्तराधिकारी हुन् र हामी भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध निरन्तर लडिरहेका थियौँ।”
चुनावको सन्दर्भमा अध्यक्ष प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गर्दै समेत गरे । उनले भने,“अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो। सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु। चुनाव हुनेछ कि हुँदैन भन्ने होइन,अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन।”
त्यस्तै उनले देशभर माओवादी केन्द्रको अभियानप्रति जनविश्वास बढ्दै गएको प्रचण्डको भनाई छ ।







