सुशीला कार्की मन्त्रिपरिषद् फेरि विस्तार, दुई नयाँ मन्त्रीले गरे शपथ

User Image Prime TV News १० महिना अगाडि
Image of सुशीला कार्की मन्त्रिपरिषद् फेरि विस्तार, दुई नयाँ मन्त्रीले गरे शपथ

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । आइतबार राष्ट्रपति भवन शीतल निवासमा दुई नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ गराउँदै मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । अब सरकार आधिकारिक रूपमा १० सदस्यीय बनेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आयोजित समारोहमा डा. सुधा शर्मा गौतम र बब्लु गुप्तालाई शपथ ग्रहण गराएका हुन्। गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र गुप्तालाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ।

आजै खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठलाई समेत मन्त्री बनाउने तयारी भए पनि उनीहरूबारे विवाद उत्पन्न भएपछि तत्कालका लागि शपथ रोकिएको थियो । प्रधानमन्त्री बनेको करिब एक महिना नपुग्दै कार्कीले यो तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन्।

उनी गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्। त्यसभन्दा अघि भदौ ३० गते र असोज ६ गते उनले पहिलो र दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी थिइन्।

पहिलो चरणमा रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङ मन्त्री बनेका थिए। दोस्रो चरणमा भने अनिलकुमार सिन्हा, महावीर पुन, मदन परियार र जगदीश खरेल सरकारमा समावेश भएका थिए।