दुर्गा प्रसाईं सरकारसँग वार्तामा बस्न तयार, आन्दोलन स्थगित
Prime TV News १० महिना अगाडि 
काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सरकारसँग वार्तामा बस्न तयार भएको घोषणा गरेका छन्।
आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलपछि प्रसाईंले गृहमन्त्रालयलाई सम्बोधन गरी वार्ताको इच्छा प्रकट गर्ने पत्र बुझाएका हुन्।
गृहमन्त्रालयले केही दिनअघि आन्दोलनरत समूहहरूलाई संवादमार्फत समाधान खोज्न आग्रह गरेपछि प्रसाईंले सकारात्मक प्रतिक्रिया दिएका हुन्।
छलफलका क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रसाईंलाई आन्दोलन तत्कालका लागि स्थगित गर्न र वार्ताको बाटो रोज्न सुझाएका थिए।
छलफलपछि प्रसाईंले पनि आफू वार्ताको पक्षमा रहेको र तत्काल कुनै आन्दोलन कार्यक्रम नरहेको स्पष्ट पारे। यसअघि प्रसाईंले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध कठोर अभिव्यक्ति र चेतावनी दिँदै आन्दोलनको तयारी गरेको घोषणा गरेका थिए।
सोही कारण राजधानीका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूबीच सुरक्षा मूल्याङ्कनसहित विशेष बैठक आयोजना गरिएको थियो।
हाल प्रसाईंको आन्दोलन स्थगित भएपछि राजनीतिक वातावरण केही शान्त बनेको छ। गृहमन्त्रालयले आगामी दिनमा प्रसाईं पक्षसँग औपचारिक वार्ताको समय र एजेन्डा तय गर्ने तयारी गरिरहेको बताइएको छ।







