नेपाल १०६ रनले पराजित, अमेरिकी बलर हर्मित सिंह चम्किए

User Image Prime TV News १० महिना अगाडि
Image of नेपाल १०६ रनले पराजित, अमेरिकी बलर हर्मित सिंह चम्किए

काठमाडौ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा आइतबार टस हारेर बलिङ गरेको नेपालले अमेरिकालाई ५० ओभरमा ६ विकेटको क्षतिमा २६२ रनमा रोक्यो। तर, २६३ रनको लक्ष्य पछ्याउन उत्रिएको नेपाल ३९.१ ओभरमा सबै विकेट गुमाउँदै १५६ रनमै समेटियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४० रन बनाए भने आशिफ शेखले ३७ रनको योगदान दिए। भिम सार्कीले २० रन र सोमपाल कामीले ११ रन बनाएपछि अन्य ब्याटरहरू दोहोरो अंकमा समेत पुग्न सकेनन्।

अमेरिकाका बलर हर्मित सिंहले १० ओभरमा ३५ रन दिएर ६ विकेट लिँदै खेलको नायक बने। शुभम् रन्जनले २ विकेट र रसिल उर्गकरले १ विकेट लिए। यसअघि ब्याटिङमा उत्रिएको अमेरिकाका लागि स्मित पटेल र मिलन्दु कुमारले अर्धशतक बनाए।

पटेलले ९ चौकासहित ७५ रन बनाए भने मिलन्दुले ५० बलमा नटआउट ७० रनको योगदान दिए। नेपालका सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्र ऐरी र आरिफ शेखले एक–एक विकेट लिए।

यो जितसँगै अमेरिका लिग–२ को शीर्षस्थानमा पुगेको छ। उसले २१ खेलबाट ३० अंक जोडेको छ। नेपाल भने १७ खेलबाट १२ अंकका साथ सातौँ स्थानमा छ।

लिग–२ अन्तर्गत सहभागी ८ राष्ट्रले नौ शृङ्खलामा ३६ खेल खेल्नेछन्। शीर्ष चार टोलीले सन् २०२७ को एकदिवसीय विश्वकपमा सिधा छनोट पाउनेछन्।