छठका कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भन्दै माफी माग्दै गगन थापा
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यस वर्षको छठ पर्वका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भएकाले आयोजकहरूसँग माफी मागेका छन्।
थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामना सन्देश सार्वजनिक गर्दै काठमाडौं र मधेशका विभिन्न ठाउँमा आयोजित छठ पर्वका कार्यक्रमहरूमा सहभागी हुन आमन्त्रण गर्ने सबैलाई धन्यवाद दिँदै आफ्नो अनुपस्थितिप्रति क्षमा प्रकट गरेका हुन्।
“यो वर्ष दशैं, तिहार र नेपाल सम्वत् जस्तै छठका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु,” थापाले लेखेका छन् । थापाले छठी माईको दिव्य आशीर्वादले सबै नेपालीमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दै आगामी वर्ष छठ पर्व सबैसँगै मनाउने इच्छा व्यक्त गरेका छन्।
“अर्को वर्ष सँगै छठ मनाउने अभिलाषासहित छठी माईको दिव्य आशीर्वाद सबैमा रहोस्,” थापाको सन्देशमा उल्लेख छ।







