विप्लवले स्वाधीनता र समाजवाद पक्षधरलाई प्रर्दशनकालागि कात्तिक २० गते बोलाए
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी कात्तिक २० गते स्वाधीनता र समाजवादका पक्षधरहरूलाई काठमाडौँमा हुने प्रर्दशनकालागि बोलाएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत् आह्वान गर्दै उनले भनेका छन्, “नेपाललाई अरूले होइन, हामी आफैँले फेर्ने हो। अरूले होइन, नेपालीले नै चलाउने हो। जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन्, देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ। स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौँमा भेटौँ साथीहरू।”
हालसम्म उक्त भेटघाटको विस्तृत कार्यक्रम वा एजेन्डा सार्वजनिक गरिएको छैन। विश्लेषकहरूले विप्लवको यो आह्वानलाई सामाजिक र राजनीतिक आन्दोलनमा नयाँ एकजुटता सिर्जना गर्ने प्रयासको रूपमा हेरिरहेका छन्।
उनका समर्थकहरूले यस भेटघाटलाई आगामी दिनमा नेपालमा समाजवादी आन्दोलनलाई बल दिन महत्वपूर्ण मञ्चको रूपमा लिने अपेक्षा गरिएको छ। विप्लवले लामो समयदेखि स्वाधीनता, समाजवाद र राष्ट्रिय स्वतन्त्रताको एजेन्डा अघि सारेका छन्।
यस भेटघाट मार्फत् उनी त्यही एजेन्डालाई सार्वजनिक समर्थन जुटाउने रणनीतितर्फ अगाडि बढ्ने देखिन्छ।







