वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्रा सुरु

User Image Prime TV News एक महिना अगाडि
Image of वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्रा सुरु

काठमाडौ । काठमाडौंको ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको शुभारम्भ भएको छ। यस अवसरमा हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएर जात्राको आरम्भ गरिएको हो।

प्रति वर्षको भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर जात्रा सुरु गर्ने परम्परा रहेको छ। यसै दिनदेखि आठ दिनसम्म विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गर्दै इन्द्रजात्रा मनाइन्छ। जात्राको अवसरमा वसन्तपुर दरबार स्क्वायरका ऐतिहासिक काष्ठमण्डप, कुमारी घर र शिवपार्वती मन्दिरलाई रंगरोगन गरेर सजाइएका छन्। साथै, रातो ध्वजा फेरिएको छ।

आज भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगोलाई इन्द्रध्वजोत्थानु भनिन्छ, र यसको फेदमा भैरवको पूजा गरिन्छ। इन्द्रजात्रा शत्रु पराजयपछि विजयको उत्सवका रूपमा मनाइन्छ, जहाँ इन्द्रध्वजको पूजा गरेर शक्ति प्रदर्शन गरिन्छ।

यस पर्वका दौरान राष्ट्रपतिले हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेको श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ। साथै, इन्द्रध्वजको लिङ्गो ठड्याएपछि जात्रामा भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार र देवराज इन्द्रको ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाइन्छ।

इन्द्रध्वज पातनको परम्परागत विधी आठौं दिन, अर्थात् आश्विन कृष्ण चौथीका दिन, इन्द्रध्वजको लिंगो लडाएर जात्राको समापन गरिन्छ। काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा नेवारी समुदायले यो पर्व धुमधामसँग मनाउने गर्छन् ।