नेपाली कांग्रेसलाई एकताबद्ध भएर अघि बढ्न कार्यवाहक सभापति खड्काको आग्रह
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रका आन्तरिक विवाद समाधान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
तरुण दलले आयोजना गरेको चियापान समारोहमा सम्बोधन गर्दै खड्काले विगतका कमी कमजोरी स्वीकार्दै पार्टीले नयाँ ऊर्जा र प्रतिबद्धताका साथ काम गर्नुपर्ने बताए।
खड्काले भने, “नेपाली कांग्रेसले संविधान, अधिकार र परिवर्तनको रक्षा गर्दै विगतका त्रुटि स्वीकार गर्दै जनताको अपेक्षा पूरा गर्नुपर्छ। तरुण साथीहरूले धैर्य, संयम र जिम्मेवारीबोधका साथ पार्टीमा योगदान दिनु पर्छ।”
खड्काले पार्टी भित्र उठेका विशेष महाधिवेशन प्रस्तावहरूलाई नियमित महाधिवेशनको सीमाभित्र समेटिने बताएका छन् । विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका नेता तथा कार्यकताहरुलाई लच्छित गर्दै उनले सो कुरा बताएका हुन् ।
२०७८ सालको १४ औं महाधिवेशनमा सहभागी ४,७४३ प्रतिनिधिमध्ये २,४८८ जनाले असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए। खड्काले बताए, “पार्टीका महाधिवेशन प्रतिनिधिहरूले पेश गर्नुभएको प्रस्तावलाई नियमित महाधिवेशनको सीमाभित्र जोडेर सम्पूर्ण एकताका साथ अघि बढ्छौं।”
कार्यवाहक सभापति खड्काले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्य सुधार भइरहेको जानकारी दिएका छन्। उनले सभापति देउवाको उपस्थितिले पार्टीमा ऊर्जा र हौसला थपिएको पनि बताए।













