देशभर पश्चिमी वायुको प्रभाव, हिमालदेखि तराईसम्म बदली र वर्षाको सम्भावना
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । देशमा पश्चिमी वायु र अरव सागरमा विकसित न्यून चापीय प्रणालीको संयुक्त प्रभावले आज देशभर मौसम बदली भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भागमा आंशिकदेखि सामान्यतया बदली रहने र विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले दिएको जानकारीअनुसार दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा वा हिमपात हुन सक्छ । साथै अन्य प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपातको संभावना रहेको छ । तराईका एक-दुई स्थानमा समेत हल्का वर्षा पर्न सक्ने सम्भावना छ ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भने भारी हिमपातको सम्भावना रहेको विभागले चेतावनी दिएको छ । सो क्षेत्रका बासिन्दा र यात्रुहरूलाई अत्यावश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
महाशाखाका अनुसार आज राति पनि देशका अधिकांश पहाडी भूभागमा बादल लाग्ने र कतिपय स्थानमा वर्षा तथा हिमपात जारी रहने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागहरूमा मध्यम वर्षा वा हिमपात हुनसक्नेछ ।
विभागले सम्भावित प्रतिकूल मौसमका कारण सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा तापक्रममा तीव्र गिरावट आउने र हिमपातका कारण जनजीवन प्रभावित हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।













