अमेरिका र जापानबीच दुई नयाँ सम्झौतामा हस्ताक्षर

User Image Prime TV News १० महिना अगाडि
Image of अमेरिका र जापानबीच दुई नयाँ सम्झौतामा हस्ताक्षर

काठमाडौ । अमेरिका र जापानबीच दुईवटा महत्वपूर्ण द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री सनेई तकाइचीले सोमबार वासिङ्टनमा आयोजित विशेष समारोहमा हस्ताक्षर गरेका हुन्।

सम्झौतामध्ये पहिलोले अमेरिका जापान सम्बन्धलाई नयाँ ‘गोल्डन एज’ अर्थात् सुनौलो युगतर्फ लैजाने आधार तयार गरेको बताइएको छ। यो सम्झौताले दुई देशबीचको रणनीतिक, आर्थिक र सुरक्षा सहकार्यलाई अझ गहिरो बनाउने उद्देश्य राखेको छ।

दोस्रो सम्झौता महत्वपूर्ण खनिज, विशेष गरी दुर्लभ खनिज (रेयर अर्थ्स) को आपूर्ति सुनिश्चित गर्न केन्द्रित छ। यसले विश्व बजारमा चीनको वर्चस्व घटाउने प्रयासका रूपमा पनि व्याख्या गरिएको छ।

सम्झौता अनुसार दुवै देशले परस्पर सहकार्यमार्फत खनिज आपूर्ति श्रृंखला सुदृढ गर्ने र वैकल्पिक स्रोत विकासमा लगानी गर्नेछन् । सम्झौता हस्ताक्षरपछि राष्ट्रपति ट्रम्पले जापानको योगदानको प्रशंसा गर्दै भने, “जापान हाम्रो सबैभन्दा विश्वसनीय मित्र र सहयोगी हो। यो सम्झौता हाम्रो साझेदारीलाई अर्को स्तरमा पुर्‍याउनेछ।” उनले जापानकी पहिलो महिला प्रधानमन्त्री सनेई तकाइचीलाई ‘शक्तिशाली र दूरदर्शी नेतृ’का रूपमा वर्णन गरे।

प्रधानमन्त्री तकाइचीले भने, “अमेरिका र जापानबीचको सम्बन्ध केवल कूटनीतिक साझेदारी होइन, यो साझा मूल्य, विश्वास र विश्व स्थायित्वको स्तम्भ हो।”