संखुवासभाको किमाथांका आसपास ४.३ रेक्टर स्केलको भूकम्प, अहिलेसम्म क्षतिको विवरण प्राप्त छैन
Prime TV News १० महिना अगाडि 
काठमाडौ । संखुवासभा जिल्लाको उत्तरी क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार बिहान ७ बजेर ३२ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४ दशमलव ३ रेक्टर स्केल मापन गरिएको हो।
भूकम्पपछि स्थानियवासीले हल्का कम्पन महसुस गरेको जनाएका छन्। तर हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ। प्रशासनले स्थानीय निकाय र सुरक्षाकर्मीमार्फत प्रभावित क्षेत्रको विवरण संकलन गर्न निर्देशन दिएको छ।
केन्द्रका भूकम्प विज्ञहरूले नेपाल भौगोलिक रूपमा भूकम्पीय संवेदनशील क्षेत्रमा पर्ने भएकाले सानाठूला कम्पनहरू समय–समयमा महसुस भइरहने बताएका छन्। यसअघि यही कात्तिक ५ गते पनि बझाङको हेमन्तवाडा आसपास केन्द्रबिन्दु बनाएर ३.९ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्ला दिनमा देशका विभिन्न भागमा निरन्तर साना भूकम्प महसुस भइरहेका छन्।







