बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले २५ वटा उद्योगको लाइन काट्यो
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । नेपाल विद्युत प्राधिकारणले बक्यौता रकम नतिरेको भन्दै ठूलला उद्योगको लाइन काटिरहेको छ । सोमबार रातिसम्म २५ वटा उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ । लाइन नकाट्दा ती उद्योगले २५० मेगावाट बिजुली खपत गर्दै आएका थिए ।
सरकारले लाइन काटेसँगै उद्योगहरुले पनि कामदारलाई बिदामा राखिसकेका छन् । २५ उद्योगले दैनिक २५० मेगावाट बिजुली खपत गरेबापत सरकारलाई ६ करोड रुपैयाँ सरकारलाई बुझाउँथे । अहिले यो घाटा भइरहेको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालले बक्यौता रकम सरकारले तोकेको समयसीमासम्म बुझाउन नआएपछि उद्योगका लाइन काटिएको जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले अहिले प्राधिकरणले दैनिक ६ करोड आम्दानी गुमाइरहेको बताए । २५ उद्योगहरूको बिजुली काटिदा ४० हजारभन्दा बढीको रोजगारी जोखिममा छ भने राज्यको ठूलो राजस्व गुमेको छ ।
विद्युत् काटिएका २५ उद्योगले पाँच अर्ब ४८ करोड ४५ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले बक्यौता तिर्न दिएको भाखा कात्तिक २ गते सकिएको थियो। कात्तिक ४ गतेदेखि सबैभन्दा बढी बक्यौता बाँकी रहेका उद्योगहरूबाट लाइन काट्न सुरू गरेको थियो ।
यो बक्यौता रकम २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुल अन्तर्गत पर्ने प्राधिकरणले जनाएको छ ।













