तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न तीव्र गतिमा काम गरिरहेको छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
Prime TV News १० महिना अगाडि 
काठमाडौ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको अग्रिम निर्वाचनमा सहभागी नहुँदा दलहरू मुलुकमा गर्नुपर्ने राजनीतिक योगदानबाट बहिर्गमन हुन सक्ने बताएका छन्।
मंगलबार आयोगमा आयोजित कार्यक्रममा भण्डारीले केही दलहरू, जस्तै नेकपा एमाले, निर्वाचनप्रति देखाएको बेवास्तालाई संकेत गर्दै भने, “यो अवस्था र वेलालाई विश्लेषण गर्दै जनताको मतबाट बाहिर रहेर प्रतिस्पर्धा गरेनौं भने मुलुकमा राजनीतिक रूपमा गर्नुपर्ने योगदानबाट बहिर्मुखी हुन्छौँ।”
उनले आयोग तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न तीव्र गतिमा काम गरिरहेको बताए। सामान्य त्रुटिले पनि निर्वाचन प्रक्रिया प्रभावित हुन सक्ने भएकाले सबै पक्षलाई सतर्क रहन आग्रह गरे। भण्डारीले थपे, “निर्वाचन मिति घोषणा भएपछि केहीले चुनौती भएको प्रचार गरे पनि आयोगले त्यसलाई अवसरको रूपमा लिएर निर्वाचन सम्पन्न गर्ने कार्यमा जुटेको छ।”
उनले सबै दलसँग छलफल गरी सुझाव लिई आयोग अघि बढिरहेको र ती सुझावका आधारमा निर्वाचन गराइने जानकारी पनि दिए।







