खराब मौसमका कारण हवाई उडान प्रभावित
Prime TV News १० महिना अगाडि 
काठमाडौ । मुलुकभर प्रतिकूल मौसमका कारण हवाई उडानमा सामान्य असर परेको छ। मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ घटाएको हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान केही ढिला भइरहेको छ।
अन्तर्राष्ट्रिय उडान केही समयदेखि ‘होल्ड’मा रहेका छन् भने हिमाली क्षेत्रका लुक्ला (तेञ्जिङ हिलारी), हुम्ला (सिमीकोट) लगायतका विमानस्थलमा पनि उडान सामान्य प्रभावित भएको छ। विमानस्थलका अनुसार अहिले खराब मौसमका कारण इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स अन्तर्गत मात्रै उडान सञ्चालन भइरहेको छ। केही उडान ढिला भए पनि रद्द गर्नुपर्ने अवस्था भने छैन।
देशमा हाल पश्चिमी वायु र अरब सागरको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागले गएरातिदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको जनाएको छ।
काठमाडौं उपत्यकाको आकाश बिहानदेखि बद्ली रहेको छ।







