पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता, सरकारले दियो कडाइको सन्देश
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता गरिएको छ ।
पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले धरौटीमा रिहा गरेपछि सरकारले उनीसहित अन्य पूर्वप्रधानमन्त्रीहरूको सुरक्षामा कटौती गर्ने निर्णय गरेको हो।
गृह मन्त्रालयका अनुसार पूर्वप्रधानमन्त्री नेपालको सुरक्षार्थ खटाइएका १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीलाई मंगलबार रातिदेखि फिर्ता बोलाइएको हो।
मन्त्रालयले पूर्वप्रधानमन्त्रीहरूको सुरक्षा व्यवस्था सम्बन्धी मापदण्ड पुनरावलोकन गर्दै ‘कानूनी कारबाहीको सामना गरिरहेका व्यक्तिहरूले राज्यका साधन प्रयोग गर्न नपाउने’ निर्णय गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षाकर्मीहरूको दुरुपयोग रोक्न निर्देशन दिएका थिए। उनले भ्रष्टाचारका अभियुक्तहरूलाई ‘पूर्वप्रधानमन्त्रीको हैसियतमा विशेष सुरक्षा सुविधा दिनु अनुचित’ रहेको बताउँदै स्पष्ट नीति अवलम्बन गरेका हुन्।
नेपाल पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी बुझाएपछि रिहा भएका थिए। सो मुद्दामा उनलाई भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्धा दर्ता गरिएको थियो।
यसअघि पनि सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुरक्षाकर्मीहरू मापदण्ड विपरीत प्रयोग भएको भन्दै फिर्ता बोलाइसकेको छ।







