इजरायल–गाजा क्षेत्रमा युद्धविराम स्तब्ध, आक्रमण पुनः सुरु भएको दाबी
Prime TV News ३ हप्ता अगाडि 
काठमाडौ । अमेरिकाले मध्यस्थता गरेको युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै इजरायलले मंगलबार गाजा पट्टीमा सशस्त्र कारबाही सुरु गरेको छ। प्रहारमा कम्तीमा २० जनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले युद्धविराम तोडेको आरोप लगाउँदै “तत्काल र शक्तिशाली” आक्रमण गर्न सैनिकलाई आदेश दिएका थिए। अमेरिकी अधिकारीका अनुसार आक्रमणको निर्णयबारे वाशिंगटनलाई जानकारी गराइएको थियो।
इजरायली सेनाले दक्षिणी गाजाको रफाह क्षेत्रमा तैनाथ आफ्ना सैनिकमाथि हमासले आरपीजी र स्नाइपर हतियारबाट आक्रमण गरेको दाबी गरेको छ। यता हमासले सैनिकमाथि आक्रमण गरेको इन्कार गर्दै इजरायलले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।
गाजाका विभिन्न स्थानमा गरिएको प्रहारमा कम्तीमा तीन महिला र दुई बालबालकसहित २० जनाको मृत्यु भएको गाजा सिभिल डिफेन्स र अस्पताल स्रोतले जनाएको छ।
यसअघि इजरायलले हमासले फिर्ता गरेको एक शव पहिचान हुन नसकेको र यो युद्धविराम सम्झौताको उल्लंघन भएको दाबी गरेको थियो।
इजरायली पक्षले सार्वजनिक गरेको भिडियोमा हमास कार्यकर्ताले शव गाडेर पुनः उत्खनन गरेजस्तो दृश्य देखिएको दाबी गरिएको छ। अन्तर्राष्ट्रिय रेडक्रसले भने आफूहरूलाई घटनाबारे पहिल्यै जानकारी नभएको जनाएको छ।
हमासले इजरायली आक्रमणपछि फेला परेको थप एक बन्धकको शव हस्तान्तरण स्थगित गरेको घोषणा गरेको छ। समूहले इजरायलले कारबाही बढाए बन्धकहरूको शव खोजी र उद्धार प्रक्रिया प्रभावित हुने चेतावनी दिएको छ।













