जेनजी आन्दोलन छानबिन आयोगका अध्यक्ष कार्कीसहित सदस्यविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

User Image Prime TV News १० महिना अगाडि
Image of जेनजी आन्दोलन छानबिन आयोगका अध्यक्ष कार्कीसहित सदस्यविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौ । सर्वोच्च अदालतले जेनजी आन्दोलन छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीलाई कारण देखाऊ आदेश जारी गरेको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि सरकारले गठन गरेको आयोगका पदाधिकारीहरूविरुद्ध अधिवक्ता विपिन ढकालले दायर गरेको रिटमाथि बुधबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आदेश जारी गरेको हो।

रिट निवेदक ढकालले आयोगका दुई पदाधिकारीहरू पूर्वाग्रही र तटस्थ नभएको दाबी गर्दै उनीहरूलाई तत्काल काम गर्न रोक लगाउन माग गरेका थिए। निवेदनमा आयोगका अध्यक्ष कार्कीले छानबिनकै विषयमा समाचार सेयर गर्नु र अन्तर्वार्ता दिनु निष्पक्ष सुनुवाइको सिद्धान्तविपरीत भएको उल्लेख छ।

सर्वोच्चले विपक्षी पक्षलाई लिखित जवाफसहित छलफलका लागि उपस्थित हुन आदेश दिएको छ। साथै, निवेदनको अन्तिम टुंगो नलागेसम्म आयोगका पदाधिकारीहरूले कुनै कार्य नगर्न वा नगराउन अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति र सुरक्षासम्बन्धी घटनाको छानबिन गर्न सरकारले पूर्वविशेष अदालतका अध्यक्ष कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो। आयोगले हालसम्म प्रारम्भिक जानकारी संकलनको काम गरिरहेको बताइएको छ।