देशभर वर्षा, कोशी, मधेश, बागमतीका नदीमा बाढीको जोखिम
Prime TV News १० महिना अगाडि 
काठमाडौ । ‘मोन्था’ चक्रवातको प्रभावका कारण बिहीबार बिहानदेखि देशभर लगातार वर्षा भइरहेको छ। लगातारको वर्षाले विशेषगरी कोशी, मधेश र बागमती प्रदेशका नदीहरूमा पानीको बहाव बढ्दै गएपछि बाढीको जोखिम उच्च बनेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त चक्रवातको प्रभाव शनिबारसम्म रहने अनुमान छ। यस अवधिमा ताप्लेजुङदेखि कपिलवस्तुसम्मका पहाडी र तराईका जिल्लाहरूमा आकस्मिक बाढी र पहिरोको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै बागमती, मधेश र कोशी प्रदेशका सानाठुला जुनसुकै नदीमा आकस्मिक रुपमा बाढी आउने जोखिम रहेको जनाएको महाशाखाले सप्तकोशी, तमोर, अरुण, दुधकोशी, तामाकोशी, सुनकोशी, कन्काई, कमला, बागमदी, राप्तीमा बाढीको जोखिम रहेको उल्लेख गरेको छ। यो चक्रवातको प्रभाव तीन दिनसम्म रहनेछ।
महाशाखाले नदी किनार तथा पहिरो सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। साथै, स्थानीय प्रशासन र सुरक्षा निकायसँग निरन्तर सम्पर्कमा रहन अनुरोध गरिएको छ।







