दक्षिण कोरियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ऐतिहासिक भेट

User Image Prime TV News ३ हप्ता अगाडि
Image of दक्षिण कोरियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ऐतिहासिक भेट

काठमाडौ । चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बीच दक्षिण कोरियाको बुसानमा भएको भेटलाई दुवै मुलुकका अवलोकनकर्ताहरूले विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रहरूबीचको अस्थिर सम्बन्ध “पुनः सेट” गर्न सक्ने सम्भावित मोडको रूपमा हेरिएको छ ।

छ वर्षपछि पहिलोपटक आमनेसामने भएका दुवै नेताले भेटको सुरुवातमा आत्मीय साटासाट गरे। बुसानस्थित गिम्हे एयर बेसमा आयोजित उक्त भेटमा ट्रम्पले सीलाई “महान देशका महान नेता” भन्दै प्रशंसा गरे र भने, “हामीबीच लामो समयको उत्कृष्ट सम्बन्ध रहनेछ।”

राष्ट्रपति सीले पनि ट्रम्पलाई फेरि भेट्न पाउँदा खुशी भएको बताए। “दुई ठूला अर्थतन्त्रबीच कहिलेकाहीँ मतभेद हुनु स्वाभाविक हो,” सीले भने, “तर हामीले सम्बन्धलाई सही दिशामा राख्नुपर्छ ताकि दुवै देशले सँगै प्रगति गर्न सकून्।”

तर यी आत्मीय शब्दहरूको बीचमा पनि, ट्रम्पले बुसान अवतरण गर्नु अघिनै अमेरिकाको तीन दशकभन्दा लामो आणविक परीक्षण निषेध अन्त्य गर्ने घोषणा गरे, जसले वार्ताको पृष्ठभूमिलाई थप संवेदनशील बनायो। 

भेटपछि ट्रम्पले सामाजिक सञ्जालमा लेखे, “अमेरिकासँग संसारकै सबैभन्दा धेरै परमाणु हतियार छन्। रूस दोस्रोमा र चीन धेरै टाढा तेस्रोमा छ, तर पाँच वर्षभित्र त्यो अन्तर घट्नेछ। त्यसैले अन्य देशका परीक्षण कार्यक्रमको सन्तुलनका लागि मैले रक्षा विभागलाई समान स्तरमा आणविक परीक्षण सुरु गर्न निर्देशन दिएको छु।”

करीब डेढ घण्टा लामो वार्तापछि दुवै नेताहरू पुनः देखा परे र हात मिलाए। त्यसपछि ट्रम्प मिडियासँग कुरा नगरी सिधै एयर फोर्स वनमा चढेर बुसानबाट प्रस्थान गरेका थिए ।

व्यापारिक तनाव र प्रमुख विषयहरू

विश्वका बजारहरू अहिले दुवै मुलुकबीचको सम्बन्ध स्थिर हुने आशामा छन्। पछिल्ला महिनाहरूमा शुल्क, निर्यात नियन्त्रण र प्राविधिक प्रतिस्पर्धाका कारण दुवै मुलुकबीच सम्बन्ध तनावपूर्ण बनेको थियो। वार्ताको मुख्य एजेन्डामा उच्च प्रविधि क्षेत्रमा पहुँच, दुर्लभ धातु निर्यात नियन्त्रण, अमेरिकी सोयाबिन निर्यात, युक्रेन युद्ध र ताइवानको स्थिति लगायतका विषयहरू थिए।

गत साता मलेसियाको क्लवालाम्पुरमा भएको द्विपक्षीय व्यापार वार्तामा दुवै पक्ष आशावादी देखिएका थिए कि राष्ट्रपति तहको भेटले भविष्यका सम्बन्धलाई नयाँ ढाँचा दिन सक्छ। तर, विशेषज्ञहरूको मूल्याङ्कन अनुसार, यस्तो कुनै पनि सहमति विश्वका दुई शक्तिशाली राष्ट्रबीचको दीर्घकालीन प्रतिस्पर्धा मात्रको एउटा अध्याय हुनेछ ।

जहाँ एकतर्फ अमेरिका लोकतान्त्रिक शक्तिको रूपमा उभिएको छ भने अर्कातर्फ चीन अधिनायकवादी नेतृत्वको साथ क्षेत्रीय प्रभाव बढाउँदै गएको छ।

वार्तापछि अनिश्चितता

वार्ताको तयारी नै कठिन थियो। केही साताअघि अमेरिकाले नयाँ प्रविधि निर्यात प्रतिबन्ध नियमहरू ल्याएपछि चीन असन्तुष्ट बनेको थियो। त्यसपछि अमेरिकी बन्दरगाह शुल्कको प्रतिकारमा चीनले पनि दुर्लभ धातु निर्यातमा नियन्त्रण घोषणा गर्‍यो। ट्रम्पले त्यसबेला चीनका सामानमा १०० प्रतिशतसम्म अतिरिक्त शुल्क लगाउने चेतावनी दिएका थिए र भनेका थिए, “अब सीसँग भेट्ने कुनै कारण छैन।”

तर अन्ततः दुवै पक्षका अधिकारीहरूले सावधानीपूर्वक योजना बनाउँदै बुसानको एयर बेसमा भेट सुनिश्चित गरे। वार्तापछि हालसम्म कुनै आधिकारिक विज्ञप्ति प्रकाशित भएको छैन, जसका कारण दुवै नेताले के कस्तो सम्झौता गरे भन्ने विषयमा विश्वभर ध्यान केन्द्रित भएको छ। (सिएनएनबाट अनुवाद)