प्रशिक्षक म्याट रसले पद छोडे, आठ महिनामै अन्त्य भयो कार्यकाल
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघका महासचिव किरण राईलाई उनले राजीनामा बुझाएका हुन् । रसको राजीनामाबारे एन्फाले भने अहिलेसम्म यसबारे औपचारिक घोषणा गरेको छैन।
रस र एन्फाबीच गत फागुन १८ गते एक वर्षको सम्झौता भएको थियो। तर उनले आठ महिनामै जिम्मेवारीबाट हट्ने निर्णय गरेका हुन्। उनको कार्यकाल छोटो भए पनि नेपाली टोलीले सातवटा खेल खेलेको थियो । रसको नेतृत्वमा नेपालले सिंगापुरलाई १–० ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो।
तर त्यसपछि नेपालले हङकङ र बंगलादेशसँग गोलरहित बराबरी, मलेसिया र लाओससँग १–१ को बराबरी र भियतनामसँग दुई खेलमा हार बेहोरेको थियो। भियतनामविरुद्धको पछिल्लो खेलमा रस दुई पहेंलो कार्डका कारण टचलाइनमा अनुपस्थित रहेका थिए।
रसले केही समयअघि सार्वजनिक रूपमा “जहाँ घरेलु लिग नियमित रूपमा हुँदैन, त्यहाँको फुटबलले ठूला नतिजा ल्याउन सक्दैन।”भनेका थिए । यसअघि महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक प्याट्रिक अफिजले पनि राजीनामा दिएका थिए। लगातार प्रशिक्षकहरूले छोटो अवधिमै पद छोड्दै जानु एन्फाको व्यवस्थापन र योजनामा प्रश्न उठ्ने विषय बनेको छ ।







