अन्नपूर्ण बेसक्याम्पमा १६२ जनाको उद्धार, अब बेसक्याम्प खाली
Prime TV News १० महिना अगाडि 
काठमाडौ । सशस्त्र प्रहरी बलले म्याग्दीको अन्नपूर्ण बेसक्याम्पबाट कात्तिक १३ गते बिहानसम्म १६२ जनालाई सुरक्षित उद्धार गरेको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, अब बेसक्याम्पमा कोही पनि आन्तरिक वा बाह्य पर्यटक नरहेको जानकारी दिए । उद्धार टोली सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको नेतृत्वमा बेसक्याम्प पुगेको थियो।
डोरीको सहायताले बाटो पहिल्याउँदै, १७ विदेशी पर्यटकसहित कुल १६२ जनालाई सुरक्षित स्थानमा ल्याइएको सशस्त्रले जनाएको छ । बुधबार मात्रै बेसक्याम्पबाट ५२ पर्यटक र बाटो भुलेर अलपत्र परेका २० जना उद्धार गरिएको थियो।
उद्धार गरिएका सबैलाई हिमपात नभएका सुरक्षित स्थानहरू जस्तै गुफाफाँट र सादिखर्कमा पुर्याइएको छ। केहीमा श्वासप्रश्वाससम्बन्धी सामान्य स्वास्थ्य समस्या देखिए पनि कुनै ठूलो समस्या भने नभएको डीएसपी थापाले जानकारी दिए। हाल बेसक्याम्प खाली भए पनि त्यहाँ हिउँपहिरो जारी रहेको छ।







