माधव नेपाललाई पार्टी नेतृत्व छोड्न खनालको आग्रह, माओवादीसँगको एकतामा विरोध
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपाललाई राजीनामा दिन सुझाव दिएका छन्।
खनालले केन्द्रीय समिति बैठकमा पार्टी नेतृत्वको भूमिका र मूल्यबोधप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्दै पार्टी नेतृत्व छोड्न सुझाब दिएका हुन् । उनले भने, “सांसद पद निलम्बन भएपछि पनि पार्टी नेतृत्व छोड्नु भएन। कम्युनिस्ट आन्दोलनको नेताले कस्तो मूल्य स्थापित गर्ने भन्ने कुरामा नेतृत्वले उदाहरण पेश गर्नुपर्छ।”
उनले पार्टी भित्रको एकता र माओवादी केन्द्रसँगको एकताका विषयमा पनि आफ्नो मत प्रष्ट पारेका छन्। खनालले भने, “यदि अहिले हाम्रो पार्टी माओवादीसँग एकता गर्छ भने, एमालेसँग गरिएको विद्रोहको निर्णय जायज ठहरिँदैन।”
केन्द्रीय सदस्यहरूले जानकारी दिएका अनुसार, खनालले जनयुद्धकालमा मृत्यु भएकाहरूको जिम्मेवारी लिन पार्टी असमर्थ रहेको पनि औँल्याएका छन्। यसैबीच, महासचिव भुसाल पनि माओवादीसँगको एकतामा खनालसँगै विरोधमा देखिएका छन्।
नेकपा एकीकृत समाजवादी भित्रको यो विवादले पार्टीको आगामी नीति र एकताको दिशा प्रतिको असहमति स्पष्ट रूपमा देखाएको छ।







