रेशमलाल चौधरीद्वारा ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताका लागि निवेदन

User Image Prime TV News ३ हप्ता अगाडि
Image of रेशमलाल चौधरीद्वारा ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताका लागि निवेदन

काठमाडौ । रेशमलाल चौधरी नेतृत्वको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। पार्टीका नेता दीप तामाङका अनुसार नयाँ दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ प्रस्ताव गरिएको हो भने चुनाव चिन्ह ‘जाँतो’ राख्ने प्रस्ताव आयोगमा बुझाइएको छ।

यसअघि नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट निर्वाचित अधिकांश केन्द्रीय सदस्यहरू नयाँ पार्टीमा आबद्ध भएका छन्। तर, नागरिक उन्मुक्ति पार्टीको ढकिया चुनाव चिन्हबाट निर्वाचित सांसदहरू र स्थानीय तहका जनप्रतिनिधिहरू भने नयाँ पार्टीमा आवद्ध नभएको बताइएको छ ।

चौधरीले यसअघि भदौ २९ गते नयाँ पार्टी गठनको घोषणा गरेका थिए। पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँगको मतभेदपछि उनी रुष्ट बनेका थिए। अध्यक्षले आफूलाई जानकारी नदिई केन्द्रीय समिति बैठक आह्वान गरेको भन्दै असन्तुष्टि जनाउँदै उनले “अध्यक्षसँगको सबैखाले सम्बन्ध समाप्त भएको छ।” भनेका थिए । 

नयाँ दल दर्ता प्रक्रियासँगै चौधरी समूहले देशव्यापी रूपमा संगठन विस्तार र नयाँ राजनीतिक अभियानको तयारी गरिरहेको बताइएको छ।