गगन थापाले गरे केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गरेका छन्। बिहीबार बसेको बैठकमा प्रस्तुत गर्ने एजेन्डाबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सहमति नजुटेपछि थापा बैठकस्थलमै प्रवेश नगरी बाहिरिएका हुन्।
थापा आजको बैठकमा विशेष महाधिवेशन सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने तयारीमा थिए। उनले मंसिर महिनामा विशेष महाधिवेशन गर्ने प्रस्ताव तयार पारेका थिए र सो प्रस्तावबारे कार्यवाहक सभापति खड्कासँग छलफल पनि गरेका थिए। तर खड्काले सहमति नजनाएपछि थापा बैठकमा सहभागी नहुने निर्णय गरेका हुन्।
यसअघि पनि थापाले विशेष महाधिवेशनका दुई विकल्प कार्यसम्पादन समितिको बैठकमा प्रस्तुत गरेका थिए। तर संस्थापन पक्षले प्रस्ताव अस्वीकार गरेको थियो। थापाले ती विकल्प सार्वजनिक समेत गरिसकेका छन्।
आजै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि नियमित र विशेष महाधिवेशनसम्बन्धी चार बुँदे प्रस्ताव सार्वजनिक गरेका छन्। पार्टीभित्र विशेष महाधिवेशनका माग बढिरहेका बेला असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिले सानेपास्थित केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन माग्दै निवेदन दिइसकेका थिए।
महामन्त्री थापा र शर्माले आगामी फागुन २१ गते हुने निर्वाचनभन्दा अगाडि विशेष महाधिवेशन बोलाउनुपर्नेमा जोड दिइरहेका छन्। कांग्रेसमा महामन्त्रीले प्रस्तुत गर्ने एजेन्डा सभापतिको सहमतिमा अघि सार्ने प्रचलन रहेको छ।







