ओली–लेखकसहितको राहदानी रोक्का: सर्वोच्चले सरकारलाई लिखित जवाफ माग्यो

User Image Prime TV News १० महिना अगाडि
Image of ओली–लेखकसहितको राहदानी रोक्का: सर्वोच्चले सरकारलाई लिखित जवाफ माग्यो

काठमाडौ । सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकसहित अन्य पाँच जनाको राहदानी रोक्का र काठमाडौँ उपत्यका बाहिर जान नपाउने स्थान हदबारे १५ दिनभित्र लिखित जवाफ मागेको छ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि सरकारलाई कारण देखाउन पत्र जारी गरेको हो। यो रिट अधिवक्ता डा. प्रेमराज सिलवालद्वारा कात्तिक १२ गते दायर गरिएको थियो।

निवेदनमा ओली र लेखकमाथि जारी गरिएको गैरकानुनी आदेश र कार्यहरू खारेज गरी संवैधानिक अधिकारको संरक्षणका लागि अन्तरिम आदेशको माग गरिएको थियो। तर अदालतले अहिलेसम्म अन्तरिम आदेश जारी गरेको छैन।

गत भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले ओली, लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको थियो। सो सिफारिसअनुसार सरकारले सम्बन्धित व्यक्तिहरूको स्थान हद तोक्ने र राहदानी रोक्का गर्ने निर्णय गरेको थियो।