नेकपा एस विभाजन संगै, ओलीद्वारा पूर्व नेता कार्यकर्तालाई एमालेमा फर्किन आह्वान
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीबाट छुट्टिएका नेता–कार्यकर्तालाई पुनः एमालेमा फर्किन आग्रह गरेका छन्।
नेकपा एकीकृत समाजवादी पार्टीले माओवादी संग पार्टी एकता गर्ने निर्णय संगै झलनाथ खनाल लगाएतका नेता एकता प्रक्रियामा नजाने निर्णय संगै ओलीले यस्तो आग्रह गरेका हुन् ।
ओलीले शुक्रबार सामाजिक सञ्जालमा सन्देश लेख्दै “जहाँ हुनुहुन्छ, आफ्नै घर फर्कनुस्” भन्दै एमालेमा पुनः सहभागिताका लागि आह्वान गरेका हुन्।
ओलीले विगतमा पार्टी निर्माण र सुदृढीकरणमा योगदान पुर्याएका सबैलाई स्मरण गराउँदै लेखे, “यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो।” उनका अनुसार मुलुकको स्वाधीनता र लोकतन्त्र जोगाउन वाम शक्तिहरू एकजुट हुनुपर्ने समय आएको छ।
सन्देशमा ओलीले राष्ट्रिय स्वाभिमान, लोकतन्त्रको सुरक्षा र जनजीवनमा समृद्धि ल्याउने लक्ष्यका लागि काँधमा काँध मिलाएर अघि बढ्नुपर्ने बताए। “समृद्ध नेपाल, सुखी नेपाली हाम्रो साझा लक्ष्य हो,” उनले लेखे।
देशको सार्वभौमसत्तामाथि चुनौती बढिरहेको र लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको दाबी गर्दै ओलीले एकताबद्ध राष्ट्रिय शक्तिको आवश्यकता औंल्याए। एमालेलाई उनले जनताको रगत, पसिना र आशाबाट बनेको “ठूलो परिवार” भन्दै सबैलाई पुनः सहकार्यका लागि आह्वान गरे।
ओलीको खुला सन्देशलाई एमालेबाट टुटेका नेताहरूलाई लक्षित कदमका रूपमा हेरिएको छ। वर्तमान राजनीतिक परिस्थितिमा वाम शक्तिको पुनः एकताका संकेतस्वरूप पनि उनको अपिल व्याख्या गरिएको छ।







