प्रतिनिधि सभा निर्वाचन तोकिएको समयमा नै हुन्छ: प्रधानमन्त्री कार्की

User Image Prime TV News ३ हप्ता अगाडि
Image of प्रतिनिधि सभा निर्वाचन तोकिएको समयमा नै हुन्छ: प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन तोकिएको समयमा नै सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छन्।

शुक्रबार बालुवाटारमा पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्रीले निर्वाचन तयारीमा कुनै सम्झौता नहुने र देशलाई लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढाइने बताइन्।

उनका अनुसार जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सुरक्षा निकायका संरचनामध्ये करिब ९० प्रतिशत पुनर्निर्माण भइसकेको छ। उनले जनताको सक्रिय सहभागिताले सुरक्षा संरचनाहरू पुनः सञ्चालनमा आएको र सुरक्षाकर्मीको मनोबल नागरिक स्तरबाट प्राप्त सहयोगका कारण थप मजबुत भएको उल्लेख गरिन्।

प्रधानमन्त्रीले निर्वाचनको वातावरण बनाउन राजनीतिक दल र जेनजी समूहसँग निरन्तर संवाद भइरहेको बताउँदै दलहरू चुनावका लागि तयार हुँदै छन्, अब निर्वाचन नहुने शंका गर्नुपर्ने अवस्था नभएको बताइन् ।

विदेशी कूटनीतिक नियोग तथा दातृ निकायहरूसँग पनि नियमित समन्वय भइरहेको भन्दै उनले लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन सञ्चार क्षेत्रबाट पनि रचनात्मक सहयोग अपेक्षा गरिन्।

भेटमा सहभागी पत्रकारहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण र राजनीतिक स्थिरताका लागि कडाइ आवश्यक रहेको सुझाव दिए। उनीहरूले समयमै चुनाव हुनुपर्ने र सरकार सबै पक्षको विश्वास जित्दै अघि बढ्नुपर्नेमा जोड दिए।