आज हरिबोधिनी एकादशी, तुलसीको पुजा गरिदै
Prime TV News १० महिना अगाडि 
काठमाडौ । देशभर आज हरिबोधिनी एकादशी श्रद्धा र उत्साहका साथ मनाइँदैछ। कात्तिक शुक्ल एकादशीका दिन मनाइने यस पर्वमा भगवान् विष्णु र तुलसीको विवाह सम्पन्न गरिँदै विशेष पूजा–अर्चना गर्ने परम्परा रहिआएको छ।
वैदिक मान्यताअनुसार हरिशयनी एकादशीका दिन सागरमा शयन गरेका विष्णु चार महिनापछि आजको दिन जागरण हुन्छन्। यो अवधिमा विवाहलगायत मांगलिक कार्य नगरिने प्रचलन छ। आजको एकादशीलाई ‘प्रबोधिनी’ वा ‘हरिबोधिनी’ एकादशी भनिन्छ।
घर–घरमा रोपिएको तुलसीको मठलाई विशेषरूपमा सजाइँदै गाईको गोबर र रातो माटोले पोत्ने तथा दामोदर–तुलसी विवाहको विधि पालना गरिन्छ। तुलसी र विष्णुको प्रतीक स्वरूपको निगालाको लिङ्ग राखी पूजा गर्ने प्रथा विभिन्न ठाउँमा देखिन्छ।
धार्मिक मान्यतासँगै तुलसीको औषधीय महत्त्व पनि जोडिएको छ। तुलसीले रोग प्रतिरोधात्मक क्षमता बढाउने, वातावरण शुद्ध गर्ने र विषालु जीव–जन्तु टाढा राख्ने वैज्ञानिक प्रमाणहरू पनि रहेका धार्मिक विद्वान्हरू बताउँछन्।
कात्तिक महिनामा तुलसी पूजा, दान, जप र होमले पुण्य प्राप्त हुने र पाप नाश हुने विश्वास शास्त्रमा उल्लेख छ। एक तुलसीपत्र अर्पण गर्दा हजारौँ गौदानको फल प्राप्त हुने वर्णन गरुड पुराणमा पाइन्छ।
एकादशीको अवसरमा राजधानीका चार नारायण, बूढानीलकण्ठ, चाँगुनारायणलगायत मन्दिरमा भक्तजनको भीड लागेको छ।







