माओवादीसँग एकता घोषणा हुँदा नै समाजवादी फुट्यो, खनाल–भुसाल समूह अलग मोडमा
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेकपा एकीकृत समाजवादी भित्र माओवादी केन्द्रसँग हुने एकताको निर्णयले पुरै पार्टी चिरा परेको छ। अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा माओवादीसँग एकता गर्ने प्रस्ताव पारित भएसँगै झलनाथ खनाल र घनश्याम भुसाल समूह खुला असन्तुष्ट बनेका छन्।
असन्तुष्ट समूह अहिले सुकेधारामा छुट्टै भेला गरिरहेको छ। भेलामा वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, रामकुमारी झाँक्री, विजय पौडेल र जीवनराम श्रेष्ठलगायत उपस्थित छन्।
जसको नाउँमा पार्टीको ‘आदर्श र मूलधारा’ जोडिन्छ, त्यही नेता खनाल भने बैठकमा अझै देखिएका छैनन्। उता अध्यक्ष नेपालको दाबी पार्टी एकता जनमत र बहुमत अनुसार हो।
हिजो मात्रै नेपालले बहुमतका आधारमा माओवादीसँग एकता गर्ने निर्णय सार्वजनिक गरे। निर्णयको केही घण्टामै खनाल पक्षले छुट्टै संगठन बनाउने संकेत दिएको थियो। आजको भेलाले अबको कदम ठोस रूपमा तय गर्ने बताइएको छ।







