कांग्रेस महाधिवेशनको मिति अझै टुंगिएन, पदाधिकारी बैठक निष्कर्षविहीन
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाली काँग्रेसको आसन्न महाधिवेशन कहिले गर्ने भन्ने विषयमा शीर्ष नेताहरू बीच सहमति जुट्न सकेन ।
शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठक पनि निष्कर्षविहीन बनेपछि महाधिवेशनको विवाद झनै चर्किएको छ ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले छलफल सकारात्मक दिशा तिर उन्मुख भएको दाबी गरे। “महाधिवेशन आम निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा मत भिन्नता छ,” उनले भने, “तर हामी सहमतितिर नजिकिएका छौँ र एकीकृत निर्णयमा पुग्ने विश्वास छ।”
कांग्रेसभित्र महाधिवेशनको मितिबारे दुई धार स्पष्ट देखिएका छ। संस्थापन समूह आसन्न आम निर्वाचनपछि अर्थात् वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छ। तर महामन्त्री गगन थापा, महामन्त्री विश्वप्रकाश शर्मा र उनीहरू निकटका नेताहरू भने निर्वाचनअघि नै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व र संरचना बनाउनुपर्ने अडानमा छन्।
महाधिवेशनको मुद्दामा सहमति नजुट्दा केन्द्रीय समितिको चलिरहेको बैठक स्थगित गरिएको थियो ।







