‘निजामती सेवा दिवस’ विविध कार्यक्रमका साथ मनाइँदै

User Image Prime TV News १० महिना अगाडि
Image of ‘निजामती सेवा दिवस’ विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौ । देशको स्थायी सरकारका रूपमा रहेको निजामती सेवा अन्तर्गत कार्यरत कर्मचारीहरूले आज देशभर विविध कार्यक्रमको आयोजना गर्दै निजामती सेवा दिवस मनाइरहेका छन्। वि.सं २०१२ सालको भदौ २२ गते पहिलो पटक निजामती सेवासम्बन्धी ऐन जारी गरिएको सम्झनामा यो दिवस हरेक वर्ष मनाइँदै आएको हो।

निजामती सेवाले बोकेको मूल्य–मान्यता, नैतिकता, सदाचार र जनसेवाप्रति निष्ठाको स्मरण गर्दै नागरिक सेवा प्रति समर्पित बन्ने दिनको रूपमा यस दिवसलाई लिइन्छ । राजनीति सबै नीतिको माउँ नीति भए पनि, निजामती कर्मचारीको भूमिका नीति निर्माणमा परामर्श दिने र कार्यान्वयनमार्फत नागरिकलाई सरल र प्रभावकारी सेवा पुर्‍याउने तर्फ अग्रसर हुनुपर्ने देखिन्छ । 

हाल निजामती सेवामा करिब ८५ हजार कर्मचारी कार्यरत छन्। दिवसको अवसरमा देशभर स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, र्‍याली, अन्तक्रिया, झाँकी प्रदर्शनी, तथा दीपावली जस्ता कार्यक्रमहरू आयोजना गरिएका छन् ।

सो अवसरमा वर्षभर उत्कृष्ट सेवा पुर्‍याएका कर्मचारीहरूलाई सम्मान गरिनेछ भने १ जनालाई सर्वोत्कृष्ट निजामती कर्मचारी, १० जनालाई उत्कृष्ट निजामती कर्मचारी,  ३० जनालाई निजामती पुरस्कार प्रदान गरिनेछ। अघिल्लो वर्ष घोषित पुरस्कार विजेताहरुलाई पनि प्रमुख अतिथिबाट प्रमाणपत्र र पुरस्कार प्रदान गरिनेछ।