कांग्रेसको स्थगित केन्द्रीय कार्यसमिति बैठक आज बस्ने
Prime TV News १० महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको स्थगित केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने बताइएको छ ।
गत शुक्रबार महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि प्रयास असफल भएपछि बैठक स्थगित गरिएको थियो। कांग्रेसभित्र हाल महाधिवेशनको समयसीमा र प्रक्रिया सम्बन्धी मतभेद तीव्र बनेको छ।
डा. शेखर कोइराला नेतृत्वको समूहले आगामी मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने माग दोहोर्याउँदै आएको छ। उनकै नेतृत्वको पक्षले कार्यसमितिको म्याद मंसिर मसान्तमा सकिने भएकाले सो समयभित्र महाधिवेशन सम्पन्न हुनु अपरिहार्य रहेको तर्क गरेको छ ।
यस्तै, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि निर्धारित अवधिभित्र महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशनको विकल्पमा जानुपर्ने धारणा अभिव्यक्त गर्दै आएका छन्।
यही मागको समर्थनमा गुरुराज घिमिरेको नेतृत्वमा २,४८८ प्रतिनिधिले विशेष महाधिवेशनको माग कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।







