यात्रुबाहक बस र अटो रिक्सा ठोक्किँदा एकै परिवारका तीनजनासहित चार जनाको मृत्यु
Prime TV News २ हप्ता अगाडि 
धनुषा । धनुषामा यात्रुबाहक बस र अटो रिक्सा एकआपसमा ठोक्किँदा एकै परिवारका तीनजनासहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई बालबालिका गम्भीर रुपमा घाइते भएका छन्।
शनिबार साँझ विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आएको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटो रिक्सालाई गणेशमान चारनाथ नगरपालिका–१, वीरेन्द्र बजारमा ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा भरतपुर निवासी अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अटो चालक झापा निवासी अन्दाजी ४० वर्षीय डम्बर राईको घटनास्थलमै मृत्यु भएको हो। मृतकमध्ये तीनजना एउटै परिवारका सदस्य भएको पुष्टि गरिएको छ।
गम्भीर घाइते १४ वर्षीय शीतल मगर र ९ वर्षीय रोशन मगरलाई जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













