दुर्गा प्रसाईं र नेपाली कांग्रेस (बीपी) बीच आन्दोलनमा सहकार्य गर्नेे सहमती

User Image Prime TV News २ हप्ता अगाडि
Image of दुर्गा प्रसाईं र नेपाली कांग्रेस (बीपी) बीच आन्दोलनमा सहकार्य गर्नेे सहमती

काठमाडौ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान’ र नेपाली कांग्रेस (बीपी) बीच आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ। आइतबार, प्रसाईं निवास, मध्यपुरथिमिमा दुवै पक्षले ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेपछि, आगामी आन्दोलनका कार्यक्रमहरूमा संयुक्त रूपमा कार्य गर्ने घोषणा गरिएको हो।

नेपालको स्वाधीनता, राष्ट्रियता, धर्म, लोकतन्त्र र नागरिक अधिकारमाथि परेका आन्तरिक र बाह्य चुनौतीहरूको प्रतिवाद गर्दै दुवै पक्षले मुलुकव्यापी जनजागरण अभियान चलाउने सहमति जनाएका छन्। यस सहकार्यको मूल उद्देश्य राष्ट्रको एकता, धर्मको संरक्षण, नागरिक अधिकारको रक्षा, र सुशासन तथा स्वतन्त्रताको पुनःस्थापना गर्ने रहेको छ।

सहमतिअनुसार, आगामी मङ्सिर ६ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलनमा नेपाली कांग्रेस (बीपी) का नेता र कार्यकर्ताहरू पनि सक्रिय रुपमा सहभागी हुने बताइएको छ ।

सहमतिमा समेटिएका प्रमुख बुँदाहरू यसप्रकार छन्:–

साझा उद्देश्य: राष्ट्र, राष्ट्रियता, धर्म, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूको संरक्षणका लागि दुवै पक्ष मिलेर संयुक्त रूपमा अभियान चलाउनेछन्।

आन्दोलनमा सहभागिता: मङ्सिर ६ गतेदेखि सुरु हुने मुलुकव्यापी आन्दोलन र जनजागरण अभियानमा नेपाली कांग्रेस (बीपी) का नेता, कार्यकर्ता र समर्थकहरूको सक्रिय सहभागिता रहनेछ।

स्वतन्त्र प्रचार र पहिचान: आन्दोलनका क्रममा, नेपाली कांग्रेस (बीपी) लाई आफ्ना झन्डा, नाराहरू, प्रचार सामग्री र संगठनात्मक पहिचानसहित भाग लिन स्वतन्त्रता दिइनेछ।

नेतृत्व र सह–समन्वय: दुवै पक्षले संयुक्त समन्वय समिति गठन गर्ने निर्णय गरेका छन्। बीपी कांग्रेसको तर्फबाट नेतृत्व तोकिएको जिम्मेवार व्यक्तिले महाअभियानसँग सहकार्य गर्दै कार्यक्रमहरूको समन्वय गर्नेछन्।

नीति र मर्यादा: आन्दोलन अहिंसात्मक, संवैधानिक, सभ्य र अनुशासित ढंगले सञ्चालन गर्ने प्रतिबद्धता दुवै पक्षले जनाएका छन्। कुनै पनि विभाजनकारी वा हिंसात्मक कार्य नगर्ने सहमति भएको छ।

प्रेस र जनसम्पर्क: सहकार्य सम्झौताबारे दुवै पक्षले संयुक्त प्रेस विज्ञप्ति जारी गर्ने र पत्रकार सम्मेलनमार्फत आन्दोलनको उद्देश्य र कार्यक्रमहरूको जानकारी दिनेछन्।